गुड्दै, सारंगी रेट्दै

गुड्दै, सारंगी रेट्दै

Gaine-Dai

‘काठमाण्डुबाट पोखरा जानी, बताईराछौं यात्रुका कहानी गोरखा मनकामना …’ आँबुखैरेनीमा बस चढेर कृष्ण गन्धर्वका दाजु भाइ सारङ्गी रेट्न थाले । धुनसँगै भुकम्पपछि बेहाल जनताको पीडा सुनाए । ईच्छुक यात्रुले केहि पैसा दिए ।

‘पहिले बा–बााजेहरु गाउँ डुल्थे । घरघरमा गएर गीत सुनाउँथे । जे दिन्छन् ल्याएर पकाएर खाईन्थ्यो ।’ लमजुङ घर भई तनहुँ भन्सारमा बस्दै आएका कृष्णले सम्झिए – ‘अहिले त जमाना त्यो छैन । घरघरमा गएर हामी गाउन पनि सक्दैनौ । न पहिले जस्तो शान नै छ ।’ सारङ्गी भिरेर बाजेको हात समाति गाउँ गएको झल्झली सम्झिन्छन् कृष्ण ।

गाउँघर डुलेर धान चामल, मकै जस्ता अन्न पाईन्थ्यो । तर अहिले यात्रुबाट पैसा मिल्छ । सारङ्गी बजाएर दैनिक चार हजार सम्म कमाउने कृष्ण दाजुभाइलाई कहिलेकाहीँ भने एक हजारमै चित्त बुझाउनुपर्छ । ‘बाउबाजेले सिकाका पेशा । कतिले खिसि गर्छन् । बसमा कति खलासीले त भाडा पनि माग्छन्’– कृष्णले गुनासो गरे– ‘गाउँ पनि शहर जस्तै भईसक्यो । रमाईलो गर्ने चीज जताततै पुगिसक्यो । गाह्रो भयो । ’ कृष्ण भन्दा पहिलेदेखि नै उनका भाइले सारंगी रेटे । २७ वर्ष पुगेका उनले १७ वर्ष त सारंगी रेटेरै कटाईसके । ‘सानैमा बिहे भयो । दुई छोराछोरी भए । रहरले होईन बाध्यताले हिँडेको । छोरालाई त मरिकाटे सिकाउन्न ।’ कृष्णको भाइको जवाफ भने बेग्लै थियो ।

धेरैजसो गन्धर्वहरुलाई बसमा सारङ्गी बजाउनु दैनिकी जस्तै भएपनि केहीका लागि भने बैकल्पिक पेशाजस्तो छ । पोखरादेखि काठमाण्डौं गुडेको बसमा अर्का दुई गन्धर्व डुम्रेबाट चढे । अलि तन्नेरीजस्तो देखिने सुब्बा गन्धर्वलाई पुर्खाको संस्कृति जोगाउने मन त छ तर छाक टार्ने समस्याकै कारण उनी सारंगी भिर्न छोडेर ब्यवसायतिर हान्निए । राजधानीकाे ठमेलमा ब्यवसाय गर्दै आएका उनी घर फर्किएको बेला भने यसरी बसमै हिँड्ने रहेछन् ।

‘के गर्नु मसँग सीप भएर पनि विकल्प पेशा नगरी भएन ।’ सुब्बाले सुनाए –‘अहिले त घर आएको बेला यसो बजाम् भनेर बसमा हिँडेको मात्र हुँ ।’ सुब्बाका तीन छोरा कसैलाई सारङ्गी बजाउनै आउँदैन । मादल मात्र बजाउँछन् । गन्धर्वका नयाँ पुस्ता सारङ्गी भिरेर गाँउ डुल्ने होईन, अरुहरु झैं झोला भिरेर विद्यालय जान थाले । ‘सारङ्गी बोक्न मान्दैनन् । साथीहरुले गिज्याउँछ भन्छन् ।’ सुब्बाले भेद खोले । उनीसँगै भाका मिलाएका ४२ वर्षका मिनबहादुर गन्धर्वको व्यथा पनि उस्तै छ । ३० वर्ष अघिदेखि सारङ्गी रेटेका मिनबहादुरका तीन मध्ये जेठाले मात्र सारङ्गी बजाउँछन् । दुई छोराहरु पढ्छन् ।

‘सारङ्गी रेटौंला, मौका मिले फेरि भेटौंला …’ एक दशक अघि कलाकार हरिवंश आचार्यले लक्ष्मी न्यौपानसँग गाएको यो गीत झैं अचेल सारङ्गी रेट्नेहरु मौकाले नै भेटिन्छन् । कुनै समय थियो सारङ्गी रेट्ने गन्धर्वहरु गाउँघरमै आईपुग्थे । अहिले उनीहरुलाई नै खोज्दै हिँड्नुपर्ने अवस्था आयो । गन्धर्व जातिसँग जोडिने एउटै बाजा ‘सारङ्गी’, जसको धुनले संगीत नै पुर्ण भईदिन्छ । ‘गाईने दाइ’हरु यही सारङ्गी काँधमा भिरेर गाउँ पस्थे । शहर देखि विदेशका खबरहरु, कारगिलमा लड्दा लड्दै वीरगति प्राप्त गरेका लाहुरेका वीर गाथाहरु सुनाउँदै हिँड्थे ।

‘सबैका आउँछन् नि, सबैका जान्छन्, हाम्रा छोरा आउँदैनन् । कि हाम्रा छोरा नि, धावैमा परे, कि बिदा पाउँदैनन्… ’ ‘के भनौ र खबर आमा भनि साध्य छैन । दशैं तिहार मान्नु पनि पाउने हो कि होईन…’ गीतमा यस्ता व्यथा समेटिन्थे । ढिलै भएपनि खबर आदानप्रदान गर्ने सूचना सम्प्रेषणको माध्यम थिए उनीहरु । साङ्गीतिक समाचार वाचकका रुपमा रहेका गन्धर्वहरु समयक्रमसँगै फेरिए । उनीहरुको गाउँ डुल्ने परम्परा पनि लोप भयो । अझै पनि सारङ्गी रेट्नेहरु नभएका होईनन् । यसरी नै बसमा सवार यात्रुलाई गीत सुनाउँदै केहि पैसा बटुलेर पेट पाल्दै आएकाहरु पनि भेटिन्छन् । बाबुबाजेका सारङ्गीसँग पैठेजोरी खेल्दै हुर्किएपनि भाका र टुक्का भने टिप्न सकेनन् । पुस्तासँगै भाका फेरिए । भाव फेरिए ।

पछिल्लो जनगणनाअनुसार नेपालमा करीब ५० हजारको हाराहारीमा मात्र गन्धर्व जाति छन् । उनीहरु विभिन्न ५६ जिल्लामा छरिएर रहेका छन् । गन्धर्व जातिमा पुरुषले मात्र सारङ्गी बजाएर हिँडछन् । कास्कीको बाटुलेचौर, हेम्जा लगायतका क्षेत्रमा यो जातिको बसोबास छ । यहँँकै झलकमान गन्धर्व, तनहुँका तिर्थबहादुर गन्धर्वहरु सारङ्गी रेटेरै सम्मानित बने । २०६६ सालमै झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला खोलेर सारङ्गी सिकाउँदै आएका धनबहादुर गायक संस्कृति संरक्षणमा युवा पुस्ता जाग्नुपर्नेमा जोड दिन्छन् । पाठशालाबाट सय बढि बालबालिकाले सारङ्गी सिके । गन्धर्व जाति बाहेकले पनि सिके । विदेशीले पनि सिके । अहिले कोलम्बियका पर्यटकले तीन महिनादेखि गायककै घरमा बसेर सिकिरहेका छन् ‘हाम्रो जातिदेखि विदेशी पाहुनासम्म ईच्छुक छन् । तर सरकारले यसलाई राम्रो संरक्षण नदिँदा पेसा संकटमा पर्ने अवस्थामा छ’ गायक भन्छन् – ‘सरकारले पुराना मठमन्दिरलाई मात्र संरक्षण दिँदा हाम्रो आफ्नै संस्कृतिको संरक्षणमा पनि राज्यले लगानी गर्नुपर्छ भन्ने ध्यान जानुपर्ने हो ।’

हेम्जाका लालबहादुर गायकलाई पनि पेशा लोप हुने अवस्थामा पुगेकोमा चिन्ता छ । सारङ्गी रेट्दै बाबु बाजेसँग मुक्तिनाथ, चितवन, भैरहवासम्म पुगेका उनी अहिले चाडपर्वमा मालश्री धुन बजाउने गर्छन् । आफै खिर्राको चारतारे सारङ्गी बनाउन सक्ने गायक सारङ्गी संरक्षणको अभियानमा जुटेको बताउँछन् ।

यो पुस्ताले पुख्र्यौली पेशालाई माया गरेरै धानिरहेका छन् । अहिलेको युवापुस्ता यसबाट टाढिँदै जाँदा चाहेर पनि संस्कृति हस्तान्तरण गर्न यो प्रौढ पुस्तालाई कठिन भईरहेको देखिन्छ । नेपालको लोककला संरक्षण गर्ने प्रमुख गन्धर्व जातिका नयाँ पुस्ताको वितृष्णाले आफ्नो संस्कृतिको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ। सञ्चारमाध्यमको तीब्र विकास र यो जातिका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेकाले पनि पेसा संकटमा परेको छ । यसमा राज्यले नै ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । गन्धर्व समाज नेपालले पनि गन्धर्व विकास बोर्डको गठन गर्नुपर्ने माग उठाउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।