दशैँलाई मासु किन्दा, पकाउँदा, खाँदा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु

दशैँलाई मासु किन्दा, पकाउँदा, खाँदा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु

Meat Mix

मासु दसैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । तर, मासु खाँदा विचार गर्नुपर्ने कुराहरु धेरै छन् । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिनलगायत धेरै तत्वहरु पनि पाइन्छन् । दसैंमा धेरैका घरमा मासुका परिकारहरु पाक्छन् ।

सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, सुरक्षित ढंगले प्रयोग नगरेमा मासुबाट पौष्टिकताको सट्टा रोग प्राप्त हुने खतरालाई सबैले मनन गर्नुपर्छ । त्यसैले उपभोक्ताले स्वस्थ मासुका लागि विभिन्न कुराका ज्ञान राख्नु उपयुक्त हुन्छ ।

केको मासु खाने ?

मासुमा पनि दुइ प्रकार हुन्छन- रातो र सेतो मासु । चार खुट्टे जनावरको मासुलाई रातो मासु भनिन्छ भने माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु भनिन्छ । रातो मासुको धेरै प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

रातो मासुको अत्यधिक प्रयोगले शरीरमा भएका विभिन्न बलिया हड्डिहरू कमजोर भई हाडजोर्नीसम्बन्धी रोगको सम्भावना अत्यधीक हुन्छ । तर, सेतो मासु रातो मासु भन्दा राम्रो मानिन्छ । सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ ।

कस्ता खसीबोका छान्ने ?

खसीबोका वा पन्छीको छनौटदेखि नै उपभोक्ताले ध्यान दिनुपर्छ । दसैंका लागि खसीबोका किन्दा नै हामीले आधारभूत कुरामा ध्यान दिए मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बसेको लगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वास्थता अनुमान लगाउन सकिन्छ । तर, शतप्रतिशत अनुमानले पनि काम गर्छ भन्ने निश्चित हुँदैन ।

पसलमा पुग्दा के-के हेर्ने ?

पसलबाट मासु किन्ने हो भने मासुको छनौटमा पनि उत्तिकै ध्यान पुर्‍याउनु आवश्यक छ । नेपालका धेरै मासु पसलहरु वैज्ञानिक तरवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियाले संक्रमण गर्ने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने गरेको छ ।

फोहोर बधशाला, मासुको तयारी र रखबारीमा हुने लापरवाहीका कारण विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरु सर्ने गरेको पाइन्छ । घरमै बध गर्दा पनि वैज्ञानिक विधि अपनाउने चलन हामीकहाँ छैन । यिनै कारण चाडपर्व सकिएपछि अस्पतालसहित स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्ने गरेको छ ।

पसलमा फ्रिज बाहिर राखेको मासु पनि नकिन्दा उचित हुन्छ । फ्रोजन गरिएको मासुमा ब्याक्टेरिया कम हुने भएकाले त्यसमा जोड दिनुपर्छ । मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा छ कि छैन भन्ने पनि विचार पुर्‍याउनुपर्छ । अस्वस्थ तथा बिरामी पशुपन्छीको मासु खाँदा पनि स्वास्थ्यमा हानी गर्छ ।

पसलमा मासु काट्ने अचानोको सफाइको अवस्था पनि ध्यान दिनपर्छ । समग्रमा पशुपन्छीको बधशाला फोहरमुक्त र सुरक्षित छ कि छैन भन्ने कुरामा उपभोक्ता सचेत हुनैपर्छ । मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ ।

गुणस्तरीय मासु कसरी चिन्ने ?

मासुका सन्दर्भामा हामी सचेत हुनु पर्ने अन्य धेरै कुरा पनि छन् । स्वस्थ्यबर्द्धक मासु चिन्न सकिएन भने पनि हाम्रो शरीरले दुख पाउँछ । मासु हलुका गुलाबी रंगको छ भने त्यसमा केही न केही खरावी छ भन्ने बुझ्दा हुन्छ । मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको प्रष्ट हुन्छ ।

यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन । मासु फ्रिजमा अलग-अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ । पसलमा पुग्दा तपाइँले ध्यान दिनैपर्ने कुरा हो, यो । बाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुन्छ । मासु काट्दा र समाउँदा धेरै तन्केको जस्तो भएमा त्यो मासु बासी हो ।

कसरी पकाउने ?

किन्दा मात्रै होइन, पकाएर खाँदा पनि मासुको उचित रेखदेख गर्नुपर्छ । काँचो मासुको परिकार खाँदा विभिन्न रोग सर्ने सम्भावना अधिक हुनछ । पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ । किनकि मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ ।

त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । यस्तै सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ । विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ ।

बोसो तथा छालारहित मासु खाने गरेमा त्यसले हानी कम गर्छ । बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन । सही ढंगले मासु र अन्य परिकार नपाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्त हुन सक्छ ।

खाएको केही समयभित्रै पेटमा समस्या देखिने, झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्ने लगायत समस्या हुन सक्छ । मासुबाट रोगहरु स्वस्थ शरीरमा सर्न सक्ने कुरामा सबै सचेत हुनुपर्छ । काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा त्यसले फाइदा गर्दैन ।

भण्डारण कसरी गर्ने ?

दसैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ । यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ । मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । सामान्य फ्रिजमा भन्दा डि-फ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ ।

मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुन्न । यदि तपाई हामीलेसुरक्षित ढंगले मासु राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने खतरा रहन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता