लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका भाँडा प्रतिबन्ध

नाे प्लाष्टिक

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका भाँडा प्रतिबन्ध

no plastic

लमजुङ — वातावरण र स्वास्थ्य दुवैलाई असर गर्ने प्लास्टिकका भाँडा प्रयोग गर्न लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । अब गाउँपालिकाको कुनै पनि सार्वजनिक तथा व्यक्तिगत कार्यमा प्लास्टिकका प्लेट, गिलास तथा चम्चा प्रयोग गर्न पाइने छैन ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जेठ २५ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार प्लास्टिकका सामग्री प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जानकारी दिए । निर्णय कार्यान्वयन गर्न पालिकाले जेठ ३२ गते बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । ‘हामी सफा मर्स्याङ्दी अभियानमा छौं । यो अभियानलाई सार्थक बनाउन प्लास्टिकका भाँडाकुँडाका सट्टा दुनाटपरीलाई प्रयोग गर्न सक्छौं । स्टिलका भाँडाहरु प्रयोग गर्न सक्छौं,’ उनले भने । उनले सिंगो गाउँपालिकालाई सफा बनाउने अभियानमा जुटेको बताए ।

गाउँपालिकाले यसअघि सार्वजनिक तथा सरकारी कार्यक्रममा खादालाई पनि प्रतिबन्ध लगाएको थियो । हाल कार्यान्वयनमा रहेको यो कार्यले गाउँपालिकालाई सफा बनाउने अभियानमा सहयोग गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार धार्मिक तथा व्यक्तिगत कार्यक्रममा भने यसलाई रोक लगाइएको छैन । खादाको सट्टा फूलमाला प्रयोगमा जोड दिइएको उनले बताए ।

‘प्लास्टिक र प्लास्टिकजन्य पदार्थले माटो र वातावरणलाई नकारात्मक असर गर्छ । मानव शरीरलाई पनि कुनै न कुनै हिसाबले असर गर्छ । यसबाट हामी बचौं र वातावरणलाई बचाऔं भन्ने हो,’ उनले भने । प्लास्टिकको सट्टा प्रयोग हुने दुनाटपरी र खादाको सट्टा प्रयोग हुने फूलले स्थानीयको आम्दानीसमेत बढाउने उनले बताए । गाउँपालिकाले सबै गाउँ, टोल, बस्ती, बाटोघाटो सरसफाईलाई तीव्रता दिएको उपाध्यक्ष जुनामाया थापाले बताइन् । उनका अनुसार गाउँपालिका आफैंले फोहोर संकलन र वर्गीकरण गरिरहेको छ । गाउँबस्तीमा पुगेर ट्र्याक्टरबाट फोहोर संकलन गरी कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्ने गरिएको उपाध्यक्ष थापाले बताइन् ।

गाउँपालिकाले अघिल्लो कार्यकालको २०७६ असोजदेखि फोहोर संकलन अभियान सञ्चालन गरेर जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो । मर्स्याङ्दी नदीलाई सफा राख्न अभियान सुरु गरेकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियान मर्स्याङ्दीले सञ्चालन गरेको हो । गाउँपालिका स्वास्थ्य शाखाप्रमुख लुलबहादुर घलेका अनुसार सफा मर्स्याङ्दी अभियानले फोहरबाट हुने र सर्ने रोग नियन्त्रणमा सहयोग पुग्ने दाबी गरे । ‘धेरै रोगहरु फोहरमैलाबाट संक्रमण हुने गर्छ । हरेक ठाउँ, हरेक क्षेत्र सफा भएपछि रोग अवश्य नै कम लाग्छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङका अनुसार जथाभावी फोहर फाल्न नदिन गाउँपालिकाले हरेक टोलबस्तीमा डस्टवीनको व्यवस्था गरेको छ । गाउँले आफैंले फोहरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने गरेका छन् । गाउँको फोहर लिन क्यालेन्डरअनुसार ट्र्याक्टर गाउँमै पुग्छ । ‘सकेसम्म फोहर नगर्ने र घरगाउँमा निस्किएको फोहरलाई गाउँमै व्यवस्थापन पनि गर्ने गरेका छन् । नकुहिने फोहरलाई गाउँमा व्यवस्थापन गर्न दिइएको छैन,’ उनले भने, ‘नकुहिनेलाई पनि हामीले पुनः वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेका छौं ।’