मनाङ — कोशी प्रदेशमा बाढीपहिरोले जनधनको क्षति पुर्याएको छ । गण्डकीका केही जिल्लामा घरबार र सडक बगाएको छ । सीमा जोडिएको लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकाको खुदी क्षेत्रमा केही दिनयता देशमै सबैभन्दा बढी पानी परेको रेकर्ड गर्दै आएको छ । अत्यधिक वर्षापछिको बाढीपहिरोले बेंसीसहर–चामे सडक छियाछिया बनाएको छ । सवारी साधन आवागमनमा समस्या बनाएको छ ।
त्यही लमजुङको थोरै माथि हिमाली जिल्ला मनाङमा भने पानी नपरेर किसान चिन्तित छन् । छिमेकी जिल्ला लमजुङसहित (मुस्ताङबाहेक) सबै जिल्लामा गर्मी छ । पानी पर्दासमेत गर्मीले उकुसमुकुस भइरहेको बेला मनाङ भने चिसो छ । वैशाख तेस्रो सातादेखि राम्रोसँग पानी नपरेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन् । उनका अनुसार खडेरीले बाटोघाटो धुलाम्य छ । खेतीबालीले पानी पाएका छैनन् ।
पानी परेपछि सुख्खा छाउँदा आलुबाली मर्न लागेको छ । फापर खेती गर्ने बेला पानी नपर्दा किसान चिन्तित छन् । पानी पारिदिन भन्दै मनाङ ङिस्याङ गाउँपालिका–१ का बासिन्दाले समुद्री सतहदेखि करिब २ हजार ७ सय मिटर उचाइको जंगलमा गएर पूजापाठ गरेका छन् । यस वडाको माथिल्लो पिसाङ, तल्लो पिसाङ, ढिकुरपोखरीलगायत गाउँका घरैपिच्छे १/१ जना पुगेर जंगलमा पूजापाठ गरेका हुन् । वडा नं. १ मा १ सय घरधुरी छन् । पूजापाठमा नगएकालाई १ सय रुपैयाँ जरिवाना गरिएको छ ।
गाउँलेले आइतबार तलेखुमाथिको धर्मस्थलमा गएर पूजापाठ गरे । टसी डोल्मा गुरुङ, छिमे वाङमा गुरुङ, पुतली गुरुङ र बुटी गुरुङको नेतृत्वमा पूजापाठ भएको हो । उनीहरू सबै महिला हुन् । उनीहरू यस वर्षका लागि नन्दी तोकिएका हुन् । विभिन्न समयमा आयोजना हुने पूजापाठबाटै बर्सेनि नन्दी तोकिन्छन् । नन्दीले पूजापाठको व्यवस्थापन गर्छन् । पूजा भने गाउँपालिका उपाध्यक्षसमेत रहेका लामा छिरिङ गुरुङले गरेका थिए । उनलाई माइला तामाङले सहयोग गरेका थिए । ‘यहाँ पूजा गरेपछि पानी पर्छ भन्ने हाम्रो विश्वास छ,’ छिरिङले भने ।
पूजापाठ गर्न जानेले सुरुमा झार उखेलेर सफा गरे । सानो–सानो मानेनजिकै धुप र मैनबत्ती बालेर पूजापाठ सुरु हुन्छ । पूजापाठ ओडारमा गरिन्छ । पाठ पढ्दा प्रकृतिसँग पानी मागिन्छ । २–३ घण्टामा पूजा सकिन्छ । त्यसपछि पानी पर्ने विश्वासका साथ खाजा खाएर सबै घर फर्किन्छन् । कहिलेकाहीँ नाचगान पनि हुने गरेको उपाध्यक्ष गुरुङले बताए ।
उनका अनुसार तलेखुमाथिको धर्मस्थलमा पूजा गरेर पानी नपरेमा ढिकुरपोखरी र क्याङ्दी पोखरीमा पूजापाठ गर्ने गरिन्छ । यहाँ पूजापाठ गरेर पनि पानी नपरेमा ग्रीनलेक भन्ने स्थानमा गएर पूजापाठ गनर्नुपर्छ । यो पोखरीमा पूजापाठ गर्न पुरुषलाई बन्देज लगाइएको छ । यहाँ पूजापाठ गर्दा पनि पानी नपरेमा पुरानो गुम्बा रहेको याका भन्ने ठाउँमा पूजापाठ गर्नुपर्छ । यहाँ भने महिलालाई बन्देज लगाइएको छ । यहाँ पूजापाठ गरेपछि भने पानी पर्ने छिरिङले बताए ।
पिसाङका अगुवा ७९ वर्षीय याङडुङ गुरुङले मनाङमा पानी नपर्दा पूजापाठ गर्ने चलन धेरै छैन । प्रकृतिले दिने पानी प्रकृतिलाई माग्न पूजा गरिएको उनले बताए । ‘यहाँ आफ्नै संस्कार, संस्कृति, परम्परा र धार्मिक मान्यता छ,’ उनले भने । उनका अनुसार दुवैले पूजापाठ गर्ने, महिलाले मात्रै गर्ने वा पुरुषले मात्रै पूजापाठ गर्ने ठाउँ रहेको उनले बताए । ‘सुरुकै ठाउँ धर्मस्थलमा पूजा गरेपछि पानी पर्छ भन्ने हाम्रो विश्वास छ । पानी नपरेमा अरु ठाउँमा पूजापाठ गर्नुपर्छ,’ उनले भने ।
उनले माथिल्लो मनाङको ढिकुरपोखरीदेखि मनाङ ङिस्याङमा वैशाख दोस्रो सातायता माटो भिज्ने गरी पानी नपरेको बताए । फपर लगाउने बेला पूरै माटो सुख्खा रहेको र फल्ने बेलाको आलु पानी नपाउँदा मर्ने अवस्थामा पुगेका छन् । ‘केही दिन पानी नआएमा आलु मर्नेछ,’ उनले भने ।
कृषि ज्ञान केन्द्र मनाङका निमित्त प्रमुख राजेश्वर सिलवालका अनुसार प्रमुख खाद्यान्न बालीमा फापर, उवा, आलुलगायत पर्छन् । अहिले आलु बृद्धि हुने समय हो । फापर लगाउने बेला भएको छ । ‘तल्लो क्षेत्रमा पानी धेरथोर परिरहे पनि माथिल्लो क्षेत्रमा पानी परेको छैन । पानी परेन भने आलुबालीलाई समस्या हुन सक्छ । फापर उम्रिँदैन’ उनले भने ।
सम्बन्धित खबर
प्रकृतिसँग पानी माग्दै मनाङमा पूजापाठ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]