अस्ताए बामपन्थी नेता टेकनाथ बराल ‘बराल बा’

ढल्याे पाेखरेली खम्बा

अस्ताए बामपन्थी नेता टेकनाथ बराल ‘बराल बा’

को हुन् मानवअधिकारवादी बराल ?

Thumnail-scaleed

पोखरा । बामपन्थी नेता एवं यहाँका अग्रज मानवअधिकारवादी टेकनाथ बरालको ८४ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्लो समय अस्वस्थ बरालको उपचारकै क्रममा दिउँसो निधन भएको हो ।

बरालको जन्म १९९६ साल जेठ २ गते भएको थियो । स्व. बरालका श्रीमती, छोरा, ३ छोरी र नातिनातिनी छन् । उनको शव मंगलबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा -७, मासबार (बुलौदी) स्थित घरमा राखिने र त्यसपछि दाहसंस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

बराल पछिल्लाे समय कम रक्तचाप र श्वासप्रश्वास समस्या दमबाट ग्रसित थिए । प्रगतिशील चेतनाका स्तम्भ बराल पोखरेलीका लागि सर्वपरिचित नाम हो । जसले ६२/६३ को जनआन्दोलनमा पोखरेलीलाई संविधानसभा र नयाँ बन्ने संविधानमा जनताको आकांक्षाका बारेमा विभिन्न मञ्चबाट दरिला अभिव्यक्ति दिएर चेतनाको चिराग बाले।

पोखराका कुनै पनि ठूला कार्यक्रम हुन्थेनन्, जहाँ बरालको उपस्थिति नभएको होस् । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म, सांस्कृतिक तथा सामाजिक आन्दोलनहरुमा बरालको योगदान धेरै छ ।

२००७ सालमै राणाविरोधी आन्दोलनमा सहभागी बराल २०२१ सालमा चोरीकाे संगिन आरोप लागेपछि भारतकाे बनारस भागे थिए । सोही क्रममा उनले क. पुष्पलाल श्रेष्ठको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश पनि निकाला भए ।

०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम उनले काम गरेका थिए । ०६२/६३ मा पाकाे उनी अग्रमाेर्चामा रहेर नेतृत्व गरे । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् ।

बुढ्यौली उमेरसम्म बराल उत्तिकै सक्रिय रहे । पछिल्लो समय दोबिल्लाको ओशो तपोबनमा बसेर ओशोका महानवाणी अनि अनुशासित शिष्ट व्यवस्थापनमा रमाएर बसे ।

लामो साथै सेतै फुलेको दाह्रीकपाल । सबैजसो दाँत झरिसकेका तर जोशजाँगर १६ वर्षे तन्नेरीको जस्तो थियो । २ वर्षअघिसम्म आन्दोलनकै नेतृत्व गर्ने फुर्ति थियो । उनी भन्थे– ‘मैले २०३६ सालमा लडेँ । जितेँ । २०४६ दोस्रो लडाईं लडयाैँ । २०६२/०६३ मा अर्को लडाई लड्यौं । बाँकी अझै एक लडाइ लड्न तयार रहनु पर्नेछ । अबको लडाई भनेको साँस्कृतिक लडाई हो । हाम्रो हातले कसैको दान दक्षिणा लिने होइन आफै कमाएर खाने र बाँच्ने लडाई हो । जबसम्म नेपालीले यो साँस्कृतिक र चेतनाको लडाई जित्न सक्दैनन् तबसम्म देश कहिल्यै समृद्धितर्फ लम्किँदैन ।’

पत्रकार घनश्याम पौडेलले ‘बराल बा’ बारे परिचयमा लामो लेख नै लेखेका छन्

पोखराको पर्यटकीय क्षेत्र फेवातालको छेऊ बैदाममा ८४ वर्ष अगाडि जन्मिएका बराल पोखरेली माटो र बाटोमा खेल्दै साथै फेवातालको पानीमा पौडिदै बालाजोवन वित्यो । माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको चिसो झेल्दै, पोखराको सेती नदी र लमतन्न परेका फाँट तरेलीमा डुल्दै खेती किसानी, शिक्षक र समाजसेवा गर्दागर्दै बनारस पढ्ने लहड चल्यो उनमा । भावी योजना र आकाङ्क्षाको पोको बोकी अनि हिँडेर रेल चढेर, घरको माया चटक्कै मारेर ।

भारतको बनारसमा पोखरेली आफन्त बलराम उपाध्याय थिए । बलरामले नै बराललाई खाने, बस्ने, पढ्ने सबै वातारणको तारतम्य मिलाइदिए । बोल्न नडराउने, फरक सोच र असल व्यवहार भएका बराललाई बनारसमा नेपाल विद्यार्थीहरूको संस्था ‘बाराणासी छात्र परिषद्’ मा पाइला टेक्न र नेता बन्न आफ्नै स्वभावले सघायो ।

नेपालमा छँदा केही काँग्रेस नेताको प्रभावमा परेका उनी दाजु बलरामको सङ्गतले पुष्पलाल श्रेष्ठको सम्पर्कमा पुगे । छात्र परिषद्को मुख्य काम नेपाली नयाँ विद्यार्थी र नेपाली तीर्थयात्रुका लागि व्यवस्थापनको कार्य नै प्रमुख थियो । सचिवको जिम्मेवारी सम्हालेका उनले आफ्नो काम र कर्तव्य उत्कृष्ट रूपमा प्रस्तुत गरे । कामले नै बिपी कोइराला तथा पुष्पलाल लगायत तत्कालीन समयमा निर्वासनमा रहेका धेरै नेता कार्यकर्ता र विद्वान्सँग राम्रो चिनजान हुन पुग्यो । बरालले आफ्नो आलोक पनि छर्न भ्याए ।

पुष्पलालको कम्युनिस्ट विचारधारालाई ठीक ठान्ने तथा फरक विचार र क्रान्तिकारी स्वभावका बरालको अभिव्यक्ति र काम गराइले बनारसको छात्र परिषद् हुँदै नेपालमा पनि चर्चा चल्न थाल्यो । वि.सं. २०२४ मा नेपाल आएपछि सङ्गठन बनाउँदै हिड्ने क्रममा पक्राउ परे र २ वर्ष जेल सजाय भयो । २०२६ मा जेलबाट रिहा भएर घर आउँदा दाजुहरूले उनलाई छुट्याइदिए । आफूलाई बैदाम माथिको पाखामा अंश परेकाले सहर्ष स्वाकारी खेतीपाती तथा सङ्गठन विस्तारमा लागिरहे । दाजुभाइ, समाज र छिमेकबाट अलग एकान्त ठाउँमा घर हुनाले प्रतिबन्धित अवस्थामा उनको घर पार्टी नेता र कार्यकर्ताका लागि सेल्टर बन्यो ।

लेकसाइड माथिको पाखोमा भूमिगत नेता आएर भैसी हेर्ने, घाँस काट्ने र खेतालाको काम गरिदिन्थे बदलामा खान र बस्न पाउथे, श्रमदानमा उनीहरू पनि रमाउँथे । बराल भने सङ्गठन विस्तारका लागि गाउँगाउँ जान पाउँथे । उता प्रशासनको खोजतलास र धरपकड कायम नै थियो । यसरी सङ्गठन कै काममा भूमिगत भएर लाग्दा लाग्दै ३६ सालमा उनी पनि आममाफीमा परे ।

वि.सं. २०४६ को जनआन्दोलनमा बाममोर्चाको तर्फबाट सक्रिय भएर आन्दोलनमा सहभागी बने । कैयौं पटक गिरफ्तारीमा परे तर पनि राजाले बहुदल घोषणा गर्न बाध्य भए । टेकनाथ बराल भन्छन्– यदि २०४६ मा राजाले म संवैधानिक राजतन्त्र र राजा हुन्छु भनी नस्वीकारेको भए राजतन्त्र उतैबेलै ढल्थ्यो । वीरेन्द्रले बहुदल त स्वीकारे तर बहुदलवादी नेताहरूकै बहुलठ्ठीपनले २०५२ सालमा जनयुद्ध निम्तायो । दरबार हत्याकाण्ड नभएको भए अर्थात् राजा वीरेन्द्रको वंशनाश नभएको भए राजतन्त्र जाने थिएन । राजतन्त्रको जरा उखेल्ने दरबार हत्याकाण्ड नै काफी भयो ।

वृद्ध अवस्थामा पनि स्पष्ट र टाठो बोली, तार्किक एवम् युवाको जस्तो जोशिलो भाषणका कारण आम पोखरेली नयाँ पिँढीले टेकनाथलाई २०६२÷०६३ सालमा नजिकबाट चिन्यो र ‘बराल बा’ को उपमा दियो । लामो कपाल र दाह्री साथै सादगी जीवन शैलीमा मानवअधिकारकर्मीको निलो ज्याकेटले सम्मानित आदर्श पुरुषको पहिचानलाई अझ् उचो बनायो ।

एकपटक पोखराको चिप्लेढुंगामा विशाल जनसमुदायलाई सम्बोधन गर्दै उनले भने– ‘जब युग सधैं प्रगतिशील हुन्छ, युवा सधैं सकारात्मक फरक सोच राख्छ तब मात्र देश विकास हुन्छ । यदि यो आमसभाका तमाम युवाले नयाँ सोच र आदर्श संस्कार राखेको छैन भने मभन्दा वृद्धहरूको बेकारको भीड ठानिने छ ।आज त्यही भइरहेको छ । हिजोका काम नलाग्ने ठहरिएका नेता आज पनि मुख्य कुर्ची र पार्टीको शीर्षस्थानमा छन् । त्यसैको परिणाम स्वरूप आज राजनीति र नेताप्रति चरम वितृष्णा र घृणा जागेको छ, भरोसा टुटेको छ ।  यो सबै सत्ता र शक्तिको खेल हो र केवल राजनीतिक रूपमा साँस्कृतिक विचलन हो । संविधानको परिपालना र प्रवद्र्धनमा नेतृत्व पटकपटक चुक्यो । संविधानमाथि बलात्कार भयो । नयाँ पुस्ताले सचेत हस्तक्षेप गरेर जोगाउनुपर्छ ।’

बराल भन्थे – ‘साँस्कृतिक रूपले चेतना परिर्वतन नभई विकास हुँदैन । धर्म निरपेक्ष भन्ने कम्युनिस्ट नेताले नै कालो बोको खोजी खोजी पूजा दूर्भाग्यो हो । मानव धर्म खै ? मानव जात खै ? म नेपाली भन्ने भावना खै ? यहा धर्मका श्री ६ गुरूहरूको गुरू मन्त्रले देश चलेको छ । संसारमा जहाँजहाँ धर्म गुरूको इसारामा राजनीति र देश चलेको छ, सबै पाकिस्तान, अफगानिस्तान सरह द्वन्द्वग्रस्त र गरिब छन् । वास्तवमा परिवर्तन आफै हुने हो, कसैले परिर्वतन गरेर हुने हैन ।

जबसम्म हामी नेपालीको नेपाल देशप्रति भावना र विकासको सोच परिर्वतन हँुदैन अझ् नेता कार्यकर्ताको सोचमा पहिलो प्राथमिकतामा देश पर्दैन तबसम्म कुनै देश समृद्ध हुँदैन । नेताको घर हुँन्छ, इन्जिनियरको घर हुन्छ, डाक्टरको घर हुन्छ तर जनताको घर किन हुँदैन ? जबसम्म जनताले शिक्षा र स्वास्थ्य सेवा सरल रूपमा पाउँदैन तब सम्म सुखी नेपालीको कल्पना गर्न सकिदैन् । समाजमा दुई प्रकारको वर्ग हुर्किरहेको छ , हुनेखाने र हुँदा खाने । छिमेकी देश चीनको अभूतपूर्व विकास हेरेर हामीले पाठ सिक्नु पर्छ ।’

पोखरामा हुने कार्यक्रममा नेता बरालको उपस्थिति:

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता