नेविसंघका नेता बास्तोलासहित ३ जना सरकारी छापहरु र जरायोको सिङसहित पोखरामा पक्राउ

अपराध

नेविसंघका नेता बास्तोलासहित ३ जना सरकारी छापहरु र जरायोको सिङसहित पोखरामा पक्राउ

सुजन गिरी र विवेक श्रेष्ठसहित बास्तोलालाई १० दिन म्याद थप

nebisang satis

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघका नेता सतिश बास्तोलासहित ३ जना विभिन्न सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरकारी कागजपत्र बनाउने प्रिन्ट संचालक र प्रयोग गर्ने कन्सल्टेन्सी मालिक पनि छन् ।

उनीहरू पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय नेवि संघका सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ मै बस्ने विवेक श्रेष्ठ हुन् । तीनै जना सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने अनुमान छ ।

बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापति एवं नेवि संघ फोर्सका निवर्तमान सभापति हुन् । अस्ति फागुन १ गतेमात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो ।

पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

समाचार स्रोतहरुले जनाए अनुसार गाँजा सेवन गर्ने युवाहरुलाई लखेट्दै गएको प्रहरी ब्लू होम डेकोर नामक पसलमा छिरेपछि सोधीखोजी गर्दै जाँदा उक्त घरेलु सजावटका बिक्री गर्ने उक्त डेकोरमा छापहरु तथा जरायोको सिङ लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो ।

सो क्रममा २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरी तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नियन्त्रणमा परेका नेविसंघ नेता बास्तोलाले अनुसन्धानका क्रममा ती अबैध कागजपत्रहरु पोखराको नयाँबजारमा रहेको फाइन डिजाइन अफ प्रिन्टमा बनेको खुलाए पछि प्रहरीले उक्त प्रिन्टका संचालक विवेक श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले अनुसन्धानका क्रममा ती सरकारी कागजपत्रहरु पोखराको चिप्लेढुंगामा संचालित जी.डी.एस. कन्सल्टेन्सीका सञ्चालक पुरनचौर नै घर भएका २५ वर्षीय सुजन गिरीका लागि बनाइएको खुलेपछि प्रहरीले गिरी समेतलाई पक्राउ गरी अनुसन्धान चलाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता