फ्लोर क्रस गरेका फणिन्द्रको मन्त्री पद ३ दिनमै चट्

पदमुक्त

फ्लोर क्रस गरेका फणिन्द्रको मन्त्री पद ३ दिनमै चट्

६ महिने मन्त्री बनाए मुख्यमन्त्रीले पुनर्नियुक्ति गर्नुपर्ने

Phadindra Devkota

पोखरा । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी नियुक्त भएको ३ दिनमै फणीन्द्र देवकोटा पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले कारबाही स्वरुप उनलाई गण्डकी प्रदेश सभाको सांसद पदबाट निस्कासन गरेपछि देवकोटा मन्त्रीबाट पनि पदमुक्त भएका हुन् ।

देवकोटा २९ जेठमा मन्त्री नियुक्त भएका थिए । शुक्रबार उनलाई सांसदबाट निस्कासन गरिएको पत्र गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले पढेर सुनाए ।

हि्वप उल्लंघन गर्ने आफ्ना सांसदलाई दलहरुले निस्कासन गर्न सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार देवकोटालाई माओवादीले निस्कासनको कारबाही गरको हो ।

सांसद देवकोटाले माओवादी ह्विप उल्लंघन गर्दै विश्वासको मत दिएकैले कांग्रेस नेता पाण्डे नेतृत्वको सरकार जोगिएको थियो । देवकोटाले माओवादीको ह्विप उल्लंघन गर्दै २८ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए ।

यसअघि देवकोटालाई माओवादीले स्पष्टीकरण सोधेको थियो । देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादी पार्टीको सांसद भएको प्रष्टीकरण बुझाएका थिए । देवकोटा नेसपाका नेता हुन् । तर उनी गएको प्रदेश सभा निर्वाचनमा गोरखा २ (१)बाट माओवादीको चिन्हबाट चुनाव लडेका थिए । सोही आधारमा उनी गण्डकी प्रदेश सभामा माओवादी संसदीय दलको सदस्यसमेत बनेका थिए ।

मन्त्री पदमुक्त हुने सम्बन्धी संवैधानिक प्रावधानमा सांसद नरहेमा भन्ने पनि व्यवस्था छ । त्यस अनुसार देवकोटा ३ दिनमै पदमुक्त भएका छन् । तर प्रदेश सभामा सदस्य नरहेको व्यक्तिलाई पनि मन्त्री बनाउन मिल्ने व्यवस्था पनि छ । तर त्यसरी नियुक्त मन्त्री ६ महिनाभित्र सांसद नबने पदमुक्त हुन्छ । देवकोटालाई ६ महिने मन्त्री बनाउने हो भने पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनर्नियुक्ति गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता