केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, सोमबार बिहान ११ बजे सपथ

नयाँ सरकार गठनः

केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, सोमबार बिहान ११ बजे सपथ

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने ओली

kp oli sharma

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन्। एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ। गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ। अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन्।

२०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटाइएको थियो। सर्वोच्चको संवैधानिक इजलासबाट यो परमादेश जारी भएको थियो। त्यो बेला परमादेशबाट ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेका थिए। त्यो असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन विद्राही नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकार बर्हिगमन गराएका थिए । अहिले आएर देउवाकै समर्थनमा ओली प्रधानमन्त्री बनेका छन्। दाहाल र नेपाल भने देउवा ओलीको विपक्षमा छन्। तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन असार २८ मा ओलीको पुनरागमन भएको छ। दुई ठूला दलको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बनेका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता