मनाङेले दिए राजीनामा, भन्छन्ः ‘वन मन्त्रालय मैले होइन, भाइहरूले लिने हो’

असन्तुष्टि

मनाङेले दिए राजीनामा, भन्छन्ः ‘वन मन्त्रालय मैले होइन, भाइहरूले लिने हो’

'वनमा बजेट छैन, तितेपातीको झ्याङ हेर्ने ? झण्डा हल्लाएर हिँडेर काम छैन’

manange-rajinama

पोखरा । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्।

सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिकबाट वनतिर सरुवा गरिदिएपछि राजीनामा दिएका हुन् । गतिलो मन्त्रालय नपरेको भन्दै पद छाडेका हुन् ।

मन्त्री मनाङेले पाण्डेलाई स्वकीय सचिवमार्फत् राजीनामा पत्र पठाएका हुन्। यद्यपी, मुख्यमन्त्री पाण्डेले भने स्वीकृत गरिसकेका छैनन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

आज नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका थिए । त्यसपछि कसैसँग नबोली निस्किए । निस्कने बेला उनले `यस्तो मन्त्रालय जुनियरलाई दिने हो’ भनेका थिए ।

उनी पदभार ग्रहण गर्न गएनन् । उनले राजीनामा दिने बताएका थिए ।

‘वन मन्त्रालयमा जान्न,  त्यो मन्त्रालय भाइहरूलाई दिएको भए हुने नि ! त्यही भएर राजीनामा दिएको हुँ । मैले राजीनामा पत्र सहयोगीमार्फत् मुख्यमन्त्रीकहाँ पठाइसकेँ ।’ राजीनामा पत्र पठाएपछि उनले भनेका छन् – ‘अब सरकारमा नजाने, अल्छी लाग्यो, कति खाने के ? रेष्ट गर्नुपर्छ अब।’

‘वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन। यो त केन्द्रले हेर्ने हो,’ उनले भने, ‘हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो। झण्डा हल्लाएर हिँडेर काम छैन।’

मनाङेले वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन पनि माग गरेको बताए। ‘तल्लो मनाङको भाइ मुनिन्द्रजंग गुरुङलाई मन्त्री देउ भनेको छु,’ उनले भने, ‘नयाँ केटाहरुलाई अनुभव हुन्छ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरेका थिए। तर उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापाले पाए। त्यसपछि नै मनाङे असन्तुष्ट बनेको बताइन्छ ।

तीन पटक खेलकुद मन्त्रालय सम्हालेका मनाङेलाई पाण्डेले नै सत्ता जोगाउन भौतिक पूर्वाधार जस्तो मालदार मन्त्रालय सुम्पेका थिए । त्यसपछि खगराज अधिकारीले पनि सोहि मन्त्रालयमा राखे भने पाण्डे पुनः मुख्यमन्त्री बन्दासमेत उक्त मन्त्रालय नै सुम्पेका थिए ।

एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई यथावत राखेका थिए ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका थिए । अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न चाहेका थिए ।

आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका मनाङेलाई गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा वन मन्त्रालयमा सरुवा गरिएको थियो । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता