बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति

बाढी पहिरो बितण्डा

बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति

'सरकारले पूर्वतयारी नगरेको होइन। यो अलि ठूलै आइपर्‍यो’ - प्रधानमन्त्री

jhyaple-pahiro

असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन्।

वर्षाबाट २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिए। त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको छ।

भौतिक क्षतितर्फ खानेपानीमा ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ। त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ।

विपद्पछि खोजी कार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको छ। राहत तथा उद्धारलाई तिव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने बताए। प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको उनको भनाइ छ।

अचानक आइपरेको घटना भएकाले कही गल्ती कमजोरी भएको हुन सक्ने उनले बताए। उनले भने,‘यस प्रकारको वर्षा भएर बाढीपहिरो जाला भन्ने अनुमान थिएन। यस प्रकारको भौतिक र मानविय क्षति होला भन्ने अनुमान थिएन। सरकारले पूर्वतयारी नगरेको होइन। यो अलि ठूलै आइपर्‍यो।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्धार र तथा राहतको काममा कमजोरीरहित काम गर्न निर्देशन दिएको बताए । उनले राहत, उद्धारसँगै अवरुद्ध सडक तथा भत्केका संरचनाको पुनर्निर्माणमा समेत तीव्रता दिइने बताए ।

उनले गृहमन्त्रीको बचाउ पनि गरे । खोलामा बगेका नागरिकको वास्तविक अवस्था पुष्टि नभई बोलेको विषयमा गृहमन्त्रीको आलोचना भइरहेको छ । यसबारे प्रधानमन्त्रीले भने, उहाँलाई प्रारम्भिक जानकारी गराउनेले जे भन्यो, उहाँले त्यही भनिदिनुभयो । सुरुको जानकारी कहिलेकाहीँ फरक पर्न सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता